काठमाण्डौ । रुपन्देहीमा बिरामी भैंसीको मासु खाँदा करिब १४० जना बिरामी परेका छन्।
सैनामैना नगरपालिका–७ देउवापारमा बिरामी परेको भैंसीको मासु पकाएर खाँदा १४० जना एकसाथ बिरामी परेपछि गाउँ नै त्रसित बनेको छ।
कुकुरले टोकेर बिरामी परेको भैंसीको मासु काटेर खाँदा सैनामैना–७ देउवापारस्थित स्मृति टोलमा स्थानीय बिरामी पर्न थालेपछि गाउँमा रेबिज संक्रमणको त्रास फैलिएको हो।
गत १९ असोज घटस्थापनाका दिन सैनामैना ८ पिपलडाँडा ठूलीओकाली निवासी एक स्थानीयसँग स्मृति टोलका केही व्यक्ति भैंसी खरिद गरी काटेर गाउँमा मासु बिक्री गरेका थिए। १९ असोजमा घटना भए पनि अहिले स्थानीय बिरामी पर्न थालेपछि मात्र सो घटना सार्वजनिक भएको हो।
सैनामैना(७ का वडा अध्यक्ष डिलाराम बेल्बासेका अनुसार घटस्थापनाका दिन स्मृति टोल निवासी दुई व्यक्तिले पिपलडाँडाबाट भैंसी ल्याई काटेर बिक्री गरेका थिए। सो भैंसीको मासु स्मृति टोलसँगै सैनामैना ८ र कञ्चन गाउँपालिका–१ का गरी १४० जनाले पकाएर खाएका थिए।
भैंसीलाई कुकुरले टोकेको केही दिनदेखि बिरामी परेको र स्मृति टोलका केही व्यक्तिले छालाको लागि भनेर सो भैंसी खरिद गरी काटेर गाउँमा मासु बिक्री गरेको पाइएको वडा अध्यक्ष बेल्वासेले जानकारी दिए।
उनले भने,‘भैंसीलाई कुकुरले टोकेको केही दिनदेखि बिरामी परेको रहेछ । उहाँहरुले हामीले छाला मात्र प्रयोग गर्छौं भनि उक्त भैंसी मालिकको घरबाट ल्याउनुभएछ र गाउँमा काटेर बिक्री गर्नुभएको रहेछ।’
बिरामी भैंसीको मासु खानेमा बच्चादेखि वृद्धसम्म छन्। अस्वस्थ मासु बिक्री वितरण गरेको हुनाले उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सालझण्डीलाई अनुरोध गरिसकेको वडाध्यक्ष बेलबासेको भनाइ छ।
घटना सार्वजनिक भएपछि सैनामैना नगरपालिकाले स्मृति टोलका ७० जनालाई रेविज विरुद्धको खोप लगाइएको छ।
यसबारे नगरपालिकाले तत्कालै लुम्बिनी प्रदेश सरकार र संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा खोपको पहल गरी ७० जनालाई खोप लगाइएको नगर प्रमुख चित्रबहादुर कार्कीको भनाइ छ।
नगर स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीका अनुसार कुल १४० मध्ये मासु काटेका र नपाकेको मासु छोएका ७० जनालाई रेविज विरुद्धको पहिलो खोप दिइएको हो।