काठमाडौं । यस साता नेप्से परिसूचक करिब ९ प्रतिशत बढेको छ। अघिल्लो साता २५५६.९५ विन्दुमा रहेको नेप्से, यस साता ८.८१ प्रतिशत अर्थात २२५.१६ अंक बढेर २७८२.११ विन्दुमा पुगेको छ।
बजार खुलेका पाँचै कारोबार दिन नेप्से परिसूचक बढेको थियो। फलस्वरुप नेप्से यस साता सो दरमा बढ्न पुगेको हो।
यस साता सेन्सेटिभ इण्डेक्स ७.७८ प्रतिशत अर्थात ३७.६१ अंक बढेको छ। त्यसैगरी, यस साता फ्लोट इण्डेक्स ८.४६ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ७.२८ प्रतिशत बढेको छ।
नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा २ अर्ब ७१ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको नेप्सेमा यस साता ५ अर्ब ८ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
साताको दोस्रो कारोबार दिन प्राविधिक रुपमा सर्ट टर्म बियरिश ट्रेण्ड ब्रेक आउट भएको संकेतसँगै लगानीकर्ताहरु बजार प्रवेश गर्न थालेपछि यस साता भोल्यूममा पनि वृद्धि भएको हो।
यस साता नेप्सेसँगै कुल बजार पूँजीकरणमा पनि सुधार भएको छ। गत साता ३५ खर्ब ७९ अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पूँजीकरण, यस साता ३ खर्ब १५ अर्ब रुपैयाँ बढेर ३८ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ।
यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक १९.६९ प्रतिशत बढेको छ। गत साता २१६८.३१ विन्दुमा रहेको सो उपसमूहको परिसूचक यस साता ४२६.९८ अंक बढेर २५९५.२९ विन्दुमा बन्द भएको छ।
अंकका आधारमा यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक बढेको छ। गत साता १४ हजार ३४७.२८ विन्दुमा रहेको यस उपसमूहको परिसूचक यस साता १ हजार ३३४.३७ अंक बढेर १५ हजार ६८१.६५ विन्दुमा पुगेको छ।
म्युचुअल फण्ड उपसमूहको परिसूचक यस साता सबैभन्दा कम ०.५५ अंक अर्थात ३.६५ प्रतिशत बढेको छ।
फ्लोरसिट विश्लेषण गर्दा यस साता सांग्रिलाको ऋणपत्र, सानिमा इक्विटी फण्ड, चन्द्रागिरी हिल्स लगायतका कम्पनीहरु मोस्ट पपुलर बाइ स्टकको सूचीमा परेका छन्। त्यसैगरी, मोस्ट पपुलर सेल स्टकको सूचीमा आँखु खोला जलविद्युत कम्पनी, मेरो माइक्रोफाइनान्स, सिटिजन्स म्युचुअल फण्ड १ लगायतका कम्पनीहरु परेका छन्।