काठमाण्डौ । सरकारले संघीय संसदको चालु अधिवेशन आज मध्यरातिदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभाको नवौं र राष्ट्रिय सभाको दशौं अधिवेशन अन्त्य गर्न सिफारिस गरेको सरकारका प्रवक्ता एंव सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । संसद्को चालू अधिवेशन भदौ २३ गते आह्वान गरिएको थियो । राष्ट्रिय सभा र प्रतिनिधिसभामा एमालेले अधिवेशन अवधिभर अवरोध गरेको थियो । एमालेको अवरोधकाबीच संघीय संसद्को चालू अधिवेशनले बजेट पारित गरेको थियो । बजेट पारित गर्नुका अलवा संसद्को यो अधिवेशनले अन्य काम भने गर्न सकेन । एमालेले अध्यादेश ल्याएर पार्टी विभाजनको आरोप लगाउँदै संसदमा अवरोध गर्दै आएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
यस्तै, सरकारले भारत, अमेरिका र बेलायतमा राजदूत सिफारिस गरेको छ ।
मन्त्रीपरिषद बैठकले भारतमा डा शंकर शर्मा, अमेरिकामा ज्ञानचन्द्र आचार्य र बेलायतमा श्रीधर खत्रीलाई राजदूतमा सिफारिस गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो । सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको बेलायत भ्रमणको पूर्वसन्ध्यामा तीन देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो । राजनीतिशास्त्रका प्राध्यापक खत्री परराष्ट्र मामिलाविज्ञ हुनुहुन्छ । यस्तै शर्मा यसअघि अमेरिकाका लागि राजदूत बनि सक्नुभएको छ ।
परराष्ट्र सेवाबाट संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि नियुक्त हुनुभएका आचार्य राष्ट्रसघीय उपमहासचिव तहसम्म काम गरेर सेवा निवृत हुनुभएको थियो । उहाँ यसअघि देउवा प्रधानमन्त्री हुँदा आर्थिक सल्लाहकार समेत रहनु भएको थियो ।००००