काठमाण्डौ । बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त हुनु भएको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता पाण्डेलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो । नवनियुक्त मुख्यमन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ समेत लिनु भएको छ । उहाँलाई प्रदेश प्रमुख शर्माले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । पाण्डेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका १/ १ जना नेता समावेश गरी मन्त्रिपरिषद विस्तार गर्नु भएको छ ।

गठबन्धनबाट पहिलो चरणमा मुख्यमन्त्री पाण्डेसहित माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान, कांग्रेस उपनेता कृष्णलाल भडेल र नेकपा एकिकृत समाजवादीका उपनेता कृष्ण खनालले मन्त्रीमा शपथ लिने तयारी गर्नुभएको छ । माओवादीले सामाजिक विकास मन्त्री, कांग्रेसले भौतिक पूर्वाधार र नेकपा (एस)ले आन्तरिक मामिला तथा कानुन मन्त्रालय पाउने बताइएको छ । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले आज दिउँसो ३ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरुलाई आह्वान गर्नु भएको थियो ।

प्रदेश प्रमुखले दिएको समयसीमामा गठबन्धनका तर्फबाट पाण्डेको मात्रै एकल दाबेदारी पेस भएको थियो । पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी गर्नुभएको हो । पाण्डेले ५९ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो ।००००