काठमाडौं । मंसिर ९ देखि १३ गतेसम्म गर्ने भनिएको नेपाली कांग्रेसको १४ औँ महाधिवेशन कार्यतालिका फेरि संशोधन हुने भएको छ ।

मंगलबार निर्वाचन समितिले सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका पदाधिकारीसँगको छलफलमा तोकिएको समयमा महाधिवेशन गर्न नसकिने बताएको हो ।

समितिका अनुसार यसअघि तोकिएको कार्यातालिकाअनुसार पार्टीको १० औं महाधिवेशन चरणबद्ध सम्पन्न नभएकाले मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंका लागि तय भएको महाधिवेशन गर्न सम्भव छैन ।

छलफलमा निर्वाचन समितिका सदस्य वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले मंसिर ९ देखि १३ गतेको अवधिमा महाधिवेशन गर्न नसकिने बताएका थिए ।

तर, पार्टी सभापति शेरबहादुर देउवाले मंसिरभित्रै महाधिवेशन सम्पन्न हुने गरी निर्वाचन कार्यतालिका बनाउन समितिलाई निर्देशन दिएका छन् ।

साथै, महाधिवेशनको प्रक्रियालाई चाँडोभन्दा चाँडो अगाडि बढाउन पनि सभापति देउवाले निर्देशन दिएका छन् । र, स्थानीय तहदेखि केन्द्रीय महाधिवेशन मंसिरभित्रै हुनुपर्ने सभापति देउवाले समितिलाई निर्देशन दिएका छन् ।

छलफलमा वरिष्ठ नेता पौडेलले मंसिर ९ देखि १३ गतेकै मितिमा महाधिवेशन गर्नुपर्ने भनेका छन् ।