काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय यातायातलाई सरकारले बढावा दिने बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा महिन्द्राद्वारा ८ लाख ४० हजारको ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भुसालले विद्युतीय यातायातलाई सरकारले बढावा दिने बताउनुभएको हो । उहाँले आजसम्म नेपालीलाई चाहिने जलविद्युतको पर्याप्त उत्पादन गरिसकेको बताउँदै अबको बाटो आफ्नै देशमा विद्युतीय सवारीसाधनसहित विद्युतीय सामानहरु बढाउने रहेको बताउनुभयो । मन्त्री भुसालले असन्तुलित अर्थतन्त्रलाई सन्तुलित बनाउन विद्युतीय सवारी साधनहरुले सहयोग गर्ने पनि स्पष्ट पार्नु भयो ।
विद्युतीय सवारी साधनले रोजगारीमा पनि सहयोग पुग्ने बताउँदै उहाँले विद्युतीय सवारीलाई बढावा दिन अब काठमाडौं उपत्यकाका सरकारी कार्यालयहरुमा र उपत्यकामा चल्ने सबै सवारीसाधनहरु विद्युतीय खरिद गर्ने नीति सरकारले ल्याएको बताउनुभयो ।