काठमाण्डौ । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुर्नस्थापना गर्दै परमादेशको सरकार गठन गर्न आदेश दिने सर्वोच्च अदालतका ५ जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताउनु भएको छ । 

आज एमालेको ७ सय ५३ वटै पालिका अधिवेशनको भर्चुअल उद्घाटन गर्दै अध्यक्ष ओलीले शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि परमादेश जारी गर्ने पाँचैजना न्यायाधीशले राजीनामा दिँदा राम्रो हुने बताउनु भएको हो । सर्वोच्चकै न्यायाधीशहरु, नेपाल बार एशोसिएसन, पूर्व प्रधानन्यायाधीश लगायतले राजीनामा मागेपछि प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा चौतर्फी दबावमा परेका बेला ओलीले संवैधानिक ईजलासमा रहेका पाँचैजना न्यायाधीशहरुको राजिनामा माग्नुभएको हो ।

पछिल्लो समय जनतालाई मर्का परेका मुद्दाहरु पेण्डिङमा रहेको, तर नक्कली मुद्दाहरु खडा गरेर राजनीतिको थलो बनाउने काम भइरहेको भन्दै उहाँले अदालतलाई विवाद र तमासाको थलो बन्न नदिन आग्रह समेत गर्नुभयो । फरक प्रसंगमा अध्यक्ष ओलीले तीनवटै तहको चुनावका लागि तयार रहन कार्यकर्ताहरूलाई निर्देशन समेत दिनुभयो । अध्यक्ष आलीले लोकतन्त्र र गणतन्त्रको रक्षा गर्ने पार्टी एमालेमात्रै भएको जिकिर गर्नुभयो ।००००