काठमाण्डौ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सडकमा माग्दैमा राजीनामा नदिने बताउनु भएको छ ।
आज बिहान सर्वोच्च अदालतका १५ जना न्यायाधीशहरूसँगको छलफलमा प्रधानन्यायाधीश जबराले आफू संवैधानिक बाटोबाट आएको र संवैधानिक हिसाबले नै बाहिरिने बताउनु भएको हो । उहाँले विवादमा आएका सबै न्यायाधीशले राजीनामा दिए मात्रै आफूले राजिनामा दिने बताउनुभयो । प्रधानन्यायाधीश जबराले कसैको दबाब र प्रभावमा परेर राजीनामा नदिने अडान न्यायाधीशहरुसँग लिनुभयो । जबराले सर्वोच्चका अन्य न्यायाधीशहरुमाथि पनि प्रश्न उठेकाले उनीहरुले पनि राजीनामा दिने भए आफू त्यसका लागि तयार रहेको जवाफ न्यायधीशहरुलाई फर्कानुभएको थियो । प्रधानन्यायाधीश जबरा विवादमा तानिएपछि आज १५ जना न्यायाधीशले सामूहिक रूपमा भेटेर आफ्ना धारणा प्रस्तुत गरेका हुन् ।
यसैबीच सर्वोच्च अदालतका १५ न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने अडान कायमै राखेका छन् । सर्वोच्च अदालत परिसरमा आज दिउँसो भएको छलफलमा न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने अडान दोहोर्याएका हुन् । प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म सुनुवाइ नगर्ने उनीहरूबीच आन्तरिक सहमति भएको छ । बुधबार फेरि बैठक बस्ने निष्कर्ष निकालिएको एक न्यायाधीशले जानकारी दिनुभयो । ०००