काठमाण्डौ । यसवर्ष तिहारका लागि ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुने भएको छ ।
फूलको माग बढे पनि स्वदेशी उत्पादनको मात्रा बढ्न नसक्दा उक्त परिणामको माला आयात गर्नुपरेको हो । बेमौसमी अविरल वर्षाका कारण टिप्ने बेलामा फूल नष्ट भएकाले भारतबाट विगतको वर्षको तुलनामा फूलको माला आयात गर्ने तयारी रहेको बताइएको छ । नेपालमा हरेक वर्ष १५ देखि २० प्रतिशतका दरले फूलको माग बढ्दै गएको तथ्याङ्क छ ।
उत्पादन क्षमता गुणात्मक वृद्धि भए अन्य देशको भर पर्नु नपर्ने व्यवसायीको भनाई छ । गत वर्षको तिहारमा भारतबाट दुई लाख सयपत्री माला ल्याइएको थियो । फूल उत्पादनमा कमी आए पनि यसवर्ष माग भने बढेको छ । कोरोना संक्रमण जोखिमका कारण यस क्षेत्रका व्यवसायीले विगतका वर्षमा झैं लगानी नगरेकाले फूल उत्पादनमा कमी आएको हो । फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले फूल लगाउने समय फागुनदेखि साउनसम्म रहेको र उक्त समयमा कोरोना सङ्क्रमण जोखिमका कारण व्यवसायीले लगानी गर्न नसकेकाले फूल उत्पादनमा त्यसको असर देखिएको बताउनुभयो ।
यसवर्षको तिहारमा १८ लाख ५० हजार मालाको माग छ । तीमध्ये १५ लाख ५० हजार सयपत्री र तीन लाख मखमली एवं् गोदावरी फूलको माला रहेका छन् । माग बढी र अन्यत्रबाट गत वर्षभन्दा बढी फूल आयात गर्नुपर्ने भएकाले यसवर्ष मूल्यमा वृद्धि हुने बताइएको छ । एक मिटर सयपत्री फूलको मालाको मूल्य ६० देखि ७० रुपैयाँसम्म पर्नेछ । यस वर्ष विगत दुई वर्षको तुलनामा १५ प्रतिशत फूलको माग बढी छ । भारतबाट ल्याइने फूल तिहार सुरु हुन तीन दिन बाँकी रहँदा नेपाल आइपुग्नेछ ।