काठमाण्डौ ।  चितवनमा हुने दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाख मानिस सहभागी गराउने दावी नेकपा एमालेले गरेको छ । एमालेले महाधिवेशनका लागि चन्दा नमाग्ने पनि जनाएको छ ।

एमाले स्थायी समितिको बैठकले चितवनमा १० औं महाधिवेशन गर्ने निर्णय गरेको भोलिपल्ट शुक्रबार बिहान एमालेले चितवनमा पत्रकार सम्मेलन आयोजना गरेर महाधिवेशन तयारीको शुभारम्भ गरिएको जनाएको छ । पत्रकार सम्मेलनमा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले भेगीय हिसावले चितवन आउन र जान सहज भएकाले उदघाटन समारोहमा पाँच लाख मानिसहरुलाई सहभागी गराइने बताए ।

महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार वा अन्य ठूलो क्षेत्रमा गर्ने गरी ठाउँको खोजी गरिएको प्रदेश अध्यक्ष पोखरेलले जानकारी दिए ।

उनका अनुसार महाधिवेशनको बन्दसत्र पूर्वी चितवन वा भरतपुरमा नै गर्ने योजना छ । ‘हामी एक सातामा नै महाधिवेशनको उद्घाटन सत्र कहाँ गर्ने, बन्द सत्र कहाँ गर्ने, के कस्तो व्यवस्थापनको विधि अपनाउने सबै निर्णय गरेर सक्छौं,’ एमाले प्रदेश अध्यक्ष पोखरेलले भने, ‘त्यसका लागि प्रदेश कमिटी, जिल्ला कमिटी र केन्द्रबाट आउने प्रतिनिधि टोलीलेसमेत अध्ययन गर्नेछ ।’