काठमाण्डौ । सरकारले लगातारको वर्षापछि आएको बाढीपहिरोमा परी मृत्यु भएका परिवारलाई राहत तथा क्षतिपूर्तिउपलब्ध गराउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई राहत र क्षतिपूर्ति दिने निर्णय गरेको हो ।बैठकले परिवारको एक जनामात्रै मृत्यु भएको अवस्थामा प्रतिपरिवार २ लाख र एकजना भन्दा धेरैको मृत्यु भएको भए प्रतिव्यक्ति थप १ लाखका दरले राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । बैठकले बाढीपहिरोमा परी घाइते भएकाहरुको सरकारले निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।
यस्तै अवरुद्ध सडक, विद्युत् र सञ्चारलाई सुचारु गर्ने बैठकको निर्णय छ ।बैठकले बाढीपहिरो प्रभावितको तत्काल खोज, उद्धार, राहतमा ध्यान दिन राज्यका सबै संयन्त्र परिचालन गर्ने निर्णय पनि गरेको छ । बाढीका कारण बालीनालीमा भएको क्षतिको विवरण संकलन गरी त्यसका आधारमा राहत र क्षतिपूर्तिको व्यवस्था गर्ने सरकारको तयारी छ । यस्तै सरकारले बाढी पहिरोबाट घर भत्केकाहरूको घर निर्माणका लागि ५ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
बैठकले पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराउने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिनुभयो । घर निर्माणका लागि जग्गाको अभाव हुनेका लागि थप ३ लाख पनि उपलब्ध गराइनेछ । यस्तै विपद् व्यवस्थापन समितिको तर्फबाट घरबारविहीन भएकाहरुलाई तत्काल ५० लाख पनि उपलब्ध गराउने निर्णय भएको छ ।००००