काठमाण्डौ । चार दिनदेखिको अविरल वर्षाका कारण गएको बाढी–पहिरोबाट देशभर ८२ जनाको मृत्यु भएको छ ।

बाढी–पहिरोबाट पाँचथरमा २७ सहित देशभर ८२ जनाको मृत्यु भएको हो । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा मात्रै बाढी पहिरो र खोलाले बगााउँदा २१ जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष अमर माखिमले जानकारी दिनुभयो ।

यस्तै, इलाममा पहिरोका कारण एकै परिवारका ४ सहित १३ जनाको मृत्यु भएको छ । बाढी–पहिरोबाट डोटीमा १३, बझाङ, हुम्ला र धनकुटामा ६/६, बैतडीमा ४, सुनसरीमा २, जुम्ला, कालिकोट, डडेलधुरा, उदयपुर र प्यूठानमा १/१ जनाको मृत्यु भएको छ । यस्तै, बझाङमा २१, इलाममा ४, प्युठानमा २ र डोटीमा १ जना बेपत्ता भएको गृह मन्त्रालयले पुष्टि गरेको छ । विभिन्न७ जिल्लाका २३ जना घाइते भएका छन् । यस्तै २० घरमा बाढी पहिरोले क्षति पुर्याएको मन्त्रालयले जनाएको छ ।

लगातारको वर्षाका कारण पहिरो आएपछि देशभरको मुख्य राजमार्गहरु अवरूद्ध भएको छ । राजमार्ग अवरूद्ध हुँदा दसैँ मनाएर राजधानी लगायत विभिन्न जिल्लाहरुमा जाने यात्री बीचबाटोमा अलपत्र परेका छन् ।००००