काठमाण्डौ । बुटबल– रुपन्देहीको मोतिपूर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूहमाथि प्रहरीले गोली चलाउँदा कम्तीमा पाँच जना घाइते भएका छन्।
प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि प्रहरीले गोली चलाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए।
अहिले मोतीपूर तनाबग्रस्त छ। प्रशासनले अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा तनाब सिर्जना भएको हो। प्रहरीले अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा झडप भएको हो। झडपमा परी दुई जना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
झडपमा प्रहरीले अत्याधिक बल प्रयोग दुई राउण्ड गोली चलाएको स्थानीयले आरोप लगाएका छन्। राती १ बजे घर घेराउ गरी स्थानीय ३१ बर्षीय हिमाल रानालाई प्रहरीले पक्राउ गरेको पनि स्थानीयको आरोप छ । बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो।
प्रशासनले तीन दिनदेखि रातीमा टहराहरु भत्काइदिदैं आएको थियो। तर, त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले आज बल प्रयोग गरेको हो। जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्याश गर्दा स्थानीयले शशक्त विरोध गरेका थिए।