काठमाण्डौ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्रनै हुने तर्क गर्नुभएको छ । 

आज गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र बाहेक अरु कुनै हुन नसक्ने बताउनाु भएको हो । उहाँले देशमा अरु धेरै कुरा गर्न बाँकी रहेको बताउँदै पूर्ण रुपमा संघीयता कार्यान्वयन गर्न बाँकी रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले सरकार कोरोना महामारीलाई नियन्त्रण गर्न सफल बनिरहेको भन्दै विदेशबाट प्रशंसा आइरहेको बताउनुभयो ।

गण्डकी प्रदेशका ११ वटै जिल्लाका लक्षित उमेर समूहका जनसंख्याको ९५ प्रतिशतभन्दा बढी साक्षर भएकोले गण्डकीलाई साक्षर प्रदेश घोषणा गरिएको हो । प्रधानमन्त्री देउवाले शिक्षा आम नागरिकको मौलिक हक भएको समेत बताउनुभयो । उहाँले शैक्षिक व्यवस्थापनमा समयानुकुल सुधार गर्ने बताउँदै शिक्षालाई अनिवार्य निःशुल्क गर्दै जाने नीति सरकारले अवलम्बन गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठले १५ वर्षमुनिका ९७.३ प्रतिशत बालबालिका विद्यालय भर्ना भएकोले साक्षर प्रदेश घोषणा गरिएको जानकारी दिनुभयो ।००००