काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त सबै मन्त्रीहरुलाई निर्देशन दिनु भएको छ।

मन्त्रिपरिषदलाई पूर्णता दिएलगत्तै शुक्रबार अपरान्ह सिंहदरवारमा बसेको मन्त्रिपरिषद बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले मुलुकको आवश्यक्ता अनुसार उत्साह र इमान्दारिताका साथ जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त मन्त्रीहरुलाई निर्देशन दिनुभएको हो ।

त्यस अवसरमा उहाँले नवनियुक्त मन्त्रीहरुको कार्यकालको पूर्ण सफलताको कामना समेत गर्नु भएको नवनियुक्त सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

बैठकले सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीलाई तोक्ने निर्णय गरेको छ । त्यसैगरी मन्त्रिपरिषद बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धि मापदण्ड २०७८ लाई स्वीकृत गर्ने र मन्त्रिपरिषदका समितिहरुलाई पुनर्गठन गर्ने निर्णय पनि गरेको छ ।

सरकारका प्रवक्ता कार्कीले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्री ज्यूले सबै मन्त्रीहरुलाई सफलताको शुभकामना व्यक्त गर्नु भएको छ । र मुलुकको आवश्यक्ता अनुसार उत्साह र इमान्दारिताका साथ काम गर्न जनअपेक्षा अनुसार अगाडि बढ्नका निमित्त सबै मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ ।'

आजको मन्त्रिपरिषद बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड २०७८लाई स्वीकृत गर्ने निर्णय गरेकाे पनि कार्कीले बताउनुभयाे ।

यसैबीच, सरकारका प्रवक्ता कार्कीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल नेपाली काँग्रेसको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गर्नु भएको बताउनुभएको छ ।

उहाँले नवनियुक्त मन्त्री हमाललाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडेर आएको समाचारमा कुनै सत्यता नरहेको बताउनुभयो । प्रवक्ता कार्कीले हमालले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको तर्क समेत गर्नुभयो ।