काठमाडौं । प्रदेश १ र बागमतीको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीले पाउने भएको छ ।
सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच बिहीबार भएको छलफलमा दुबै प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीले लिने सहमति भएको एक नेताले जानकारी दिए । अब प्रदेश १ मा राजेन्द्र राई र बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नेछन् ।
दुबै प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार छ । प्रदेश १ मा भीम आचार्य भदौ १० र बागमतीमा अष्टलक्ष्मी शाक्य २ भदौमा मुख्यमन्त्री भएका थिए ।
तर ९ भदौमा एमाले विभाजन भएसँगै दुबै मुख्यमन्त्री अल्पमतमा परेका छन् । मुख्यमन्त्री आचार्यले भोलि २२ भदौमा विश्वासको मत लिने प्रस्ताव राख्दैछन् भने शाक्यले २४ असोजमा विश्वासको मत लिने छिन् ।
कांग्रेस, एमाले, माओवादी केन्द्र र जसपाको बहुमत भएकाले दुबै प्रदेशमा नयाँ सरकार बन्ने छ । नेताहरुका अनुसार प्रदेश १ को मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने पूर्व सहमति थियो । बिहीबार त्यसलाई निरन्तरता दिने सहमति जुटेपछि कांग्रेस नेताहरुले संसदीय दलका नेता राजीव कोइरालालाई त्यो जानकारी गराएका छन् ।
बागमतीमा भने कांग्रेसले आलोपालो गर्ने र सुरुमा आफ्ना संसदीय दलका नेता इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउने प्रस्ताव गरेको थियो । तर एकीकृत समाजवादीका नेताहरु सहमत भएनन् र, पाण्डे नै मुख्यमन्त्री बन्ने भएका छन् । यद्यपि आलोपालो हुनसक्ने नेताहरु बताउँछन् ।