काठमाण्डौ । यसबर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले दशैं भत्ता नपाउने भएका छन् ।
बिगतदेखि संघीय सांसदका लागि दिदै आएको दशैँ भत्ता यस पटक काटिएको हो । संघीय संसद सचिवालय लेखा शाखाले असोज महिनाको तलब मात्रै खातामा राखिदिएको जनाएको छ । दशै भत्ता खातामा नआएपछि केही सांसदहरुले सचिवालयमै आएर आक्रोश समेत ब्यक्त गरेका छन । गत बर्ष दशैं भत्ता दिँदा विवाद भएको र यसबर्ष मन्त्रिपरिषदले सांसदहरुलाई दशैं भत्ता दिने वा नदिने भनी कुनै निर्णय नगरेकाले दशैंभत्ता नदिएको संसद सचिवालयका प्रमुख लेखा अधिकृत बसन्त सिग्देलले जानकारी दिनुभयो ।
बैठक भत्ता र यातायात खर्चबाहेक संघीय सांसदहरूले मासिक ६६ हजार ७० रुपैयाँ पाउँदै आएका छन । २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ जना सांसद छन भने राष्ट्रिय सभामा ५९ जना सांसद रहेका छन् । संघीय सांसदहरुका लागि प्रतिमहिना २ करोड ९८ लाख ४६ हजार र सांसदका निजी सचिवका लागि १ करोड ४३ लाख ७४ हजार खर्च हुने गरेको छ । ००००