काठमाण्डौ । अमेरिकि सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनका सम्बन्धमा दलहरुबीच सहमति जुट्न नसकिरहेको बेला एसमीसी सम्झौता खारेजीको आवाज उठ्न थालेको छ ।
विश्व ट्रेड युनिययन महासंघको ७६ औं स्थापना दिवसको अवसरमा आईतबार आयोजित विचार गोष्ठी कार्यक्रममा प्रा.डा.युवराज संग्रौलाले एमसीसी सम्झौता नेपालको सार्वभौमिकता विरुद्ध रहेको भन्दै यसको खुलेरै विरोध गर्नुपर्ने बताउनु भएको हो । उहाँले एमसीसी नेपालको संविधान र अन्तर्राष्ट्रिय सन्धी सम्झौताको विपरित रहेको पनि बताउनुभयो । एमसीसी सम्झौतामा अमेरिकाको वर्तमान र भोलि बन्ने कानुन समेत लागु हुनेछ भनेर स्पष्ट लेखेको उहाँले बताउनुभयो । संग्रौलाले एमसीसीका विरुद्धमा हिंसात्मक नभई तार्किक लडाई लड्नु पर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता लिलामणी पोखरेलले कुनै पनि देशलाई सहायता दिदा अमेरिकाले आफ्नो सुरक्षा रणनीतिलाई माथि राख्ने गरेको भन्दै अमेरिकाले आफ्नो सुरक्षा रणनीतिको रुपमा एमसीसीलाई अघि सारेको बताउनु भयो । यस्तै, नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले एमसीसी सम्झौता मार्फत नेपालमा साम्राज्यवाद विस्तार गर्न खोजेको र एमसीसीले नेपालको राष्ट्रियता र स्वाधिनतामाथि नै आँच पु¥याउने बताउनु भयो । लामो समयदेखी चर्चाको विषय बन्दै आएको एमसीसीका सम्बन्धमा सरकारले अहिलेसम्म पनि ठोस निर्णय लिन सकेको छैन।