काठमाण्डौ । नेकपा एमालेले वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्ष राख्ने भएको छ ।

आज विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिदै उपमहासचिव विष्णु पौडेलले सहभागीको सुझावअनुसार विधान महाधिवेशनले वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्ष राख्ने निर्णय गरेको जानकारी दिनुभयो । यसअघि १३ पदाधिकारी रहेकामा अब १५ पदाधिकारी हुने भएका छन् । त्यस्तै यसअघि विधानबाट हटाइएको उपमहासचिव पद फिर्ता भएको छ । तर, यसअघि २ उपमहासचिव रहेकामा अब एकमात्र उपमहासचिव रहने नेता पौडेलले बताउनुभयो उहाँका अनुसार सचिवको संख्या ७ पुर्याइएको छ ।

एमालेको केन्द्रीय सदस्य हुनका लागि तोकिएको योग्यता पनि संशोधन भएको छ । यसअघि पार्टी सदस्य भएको १५ वर्ष हुनुपर्ने भन्ने प्रावधान हटाएर १० वर्ष कायम गरिएको छ । त्यस्तै केन्द्रीय सदस्य बन्नका लागि केन्द्रीय निकायको सदस्य भएको वा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य भएको व्यक्ति योग्य हुनेछन् । उपमहासचिव पौडेलले सहभागीको सुझावलाई ध्यान दिँदै नयाँ पुस्तालाई पनि नेतृत्वमा विकास गर्न ४५ सदस्यीय स्थायी कमिटी बनाइने बताउनुभयो । एमालेको प्रथम विधान महाधिवेशन आज सकिँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा ३ दिनदेखि जारी महाधिवेशन राजनीतिक, सांगठनिक र विधान संशोधन प्रतिवेदन पारित गर्दै समापन गर्न लागिएको हो ।

अहिले उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिइरहनु भएको छ । त्यसपछि महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमाथि उठेका जिज्ञासाहरुको जवाफ दिने कार्यसूची रहेको छ । महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी रहेका छन् ।००००