काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को प्रथम विधान महाधिवेशनको दोस्रो दिन शनिवार विभिन्न पाँच समूहले विभिन्न दस्तावेजहरूमाथि सुझाव पेश गरेका छन् । महाधिवेशनमा दशमध्ये पाँच समूहले सुझाव पेश गरेका हुन् ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारबाट शुरु भएको महाधिवेशनको पहिलो दिन पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए । 

प्रतिवेदनहरूमाथि छलफल र सुझाव प्रस्तुत गर्न केन्द्रीय निकाय र विभाग, सात वटा प्रदेश कमिटी, उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन तथा प्रवासको समेत प्रतिनिधित्व रहेको १० वटा समूह बनाइएको थियो ।

शनिबार पहिलो चरणमा प्रतिवेदनमाथि छलफल र दोस्रो चरणमा ती दस्तावेजहरूमाथि उठेका सुझाव समेटेर ५ वटा समूह नेताहरुले  पेश गरेका छन् भने बाँकी समूहकाे सुझाव भाेलिकाे कार्यक्रममा पेश हुने बताइएकाे छ ।