काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले व्यवसायीले पोलभाडा नतिरेको भन्दै आजदेखी केवल तथा इन्टरनेटको तार काट्न थालेको छ ।
यससँगै देशका विभिन्न स्थानमा इन्टरनेट र केवल सेवा प्रभावित बनेको व्यवसायीले बताएका छन् । प्राधिकरणले आफ्नो बिजुलीको पोल प्रयोग गरेबापतको भाडा एकतर्फीरुपमा उच्चदरले बढाएको थियो । व्यवसायीले यसको विरोध गर्दै आएका छन् । आज विराटनगर, पोखरा, बुटवल, चितवन लगायतका स्थानमा प्राधिकरणले तार काटेपछि केवल सेवा अवरुद्ध बनेको केवल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष ध्रुव शर्माले जानकारी दिनुभयो । काठमाडौंमा पनि रिङरोड बाहिरका विभिन्न ठाउँमा इन्टरनेटको तार काटिएको छ । प्राधिकरणले १६ असोजबाट तार काट्न थाल्ने भनेर अगाडिनै सूचना निकालेको थियो । प्राधिकरणका निर्देशक श्रीराम पाण्डेले सरकारले तोकेको राजश्व उठाउनका लागि प्राधिकरणले कदम चालेको बताउनुभयो । विद्युत प्राधिकरणले इन्टरनेट तथा केवुल टिभीका तारहरु काट्न थालेपछि सेवाप्रदायकहरु आन्दोलित बनेका छन् । चितवनमा आज विद्युत प्राधिकरण भरतपुर कार्यालय अगाडि धर्ना दिँदै नाराबाजी गरेका थिए ।
यसैबीच, दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टनेटको तार काटिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विद्युत् प्राधिकरणले देशका विभिन्न ठाउँमा इन्टरनेट सेवा प्रभावित भएको भन्दै प्राधिकरणले विज्ञप्ति निकालेर छलफलबाट समस्या समाधान गर्नुपर्नेमा अत्यावश्यक सेवा अन्तर्गत पर्ने इन्टरनेट सेवानै बन्द हुने गरी तार काटिनु दुखद् विषय भएको जनाएको छ । पोल भाडा दर विवाद समाधान गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघ नेपालबीच छलफल भैरहेको अवस्थामा अचानक तार काट्नु गलत भएको र दूरसञ्चार ऐन, २०५३ अनुसार यो दण्डनीय क्रियाकलाप भएको दूरसञ्चार प्राधिकरणले जनाएको छ ।००००