काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेसँग प्रतिवाद गरेर अघि बढ्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
आज पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिले ललितपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले एमालेका नेता, कार्यकर्तालाई जाली, फटाहाको संज्ञा दिँदै उनीहरूको प्रतिवाद नगरी आगामी निर्वाचन जित्न नसकिने बताउनु भएको हो । उहाँले अबको डेढ वर्ष एमाले गणतन्त्र र संघीयता विरोधि रहेको भन्दै जनतामा जान पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।
अध्यक्ष दाहालले आफ्ना पार्टीका लडाकू कार्यकर्तामाथि एमालेले आक्रमण गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसो गरिए एमालेविरुद्ध देशभर प्रतिवाद गर्ने चेतावनी समेत दिनुभयो ।
अध्यक्ष दाहालले देश, संविधान र गणतन्त्र बचाउनका लागि पनि एमालेविरुद्ध सशक्त ढंगले अघि बढनुपर्ने बताउनुभयो । उहाँले केपी ओलीले छलकपटको बाटो लिएपछि उनीविरुद्ध पार्टी हेर्डक्वाटरमै बमबारी गर्नु परेको बताउनुभयो । अभ्यक्ष दाहालले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले धेरै दुःख गरेको समेत बताउनुभयो । एमालेसँग पार्टी एकता गर्नु सही भएको तर केपी ओलीको जालझेल सहन नसकेपछि आफूहरूले पार्टी भित्रैबाट विद्रोह गर्नु परेको उहाँको भनाइ थियो ।००००