काठमाण्डौ । नेकपा एमालेको पहिलो विधान महाधिवेशन सुरु भएको छ ।

ललितपुरको गोदावरीस्थित सभाहलमा अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनको उद्घाटन गर्नुभएको हो । महाधिवेशनले विधान संशोधन, राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन पारित गर्नेछ ।

एमाले विभाजनपछि पहिलो पटक हुन लागेको महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा धेरै प्रतिनिधि सहभागी रहेको एमालेले जनाएको छ । उद्घाटन समारोको संचालन सचिब प्रदीप ज्ञवालीले गर्नुभएको छ ।

महाधिवेशन सञ्चालनका लागि अध्यक्ष ओलीसहित ६ जनाको अध्यक्ष मण्डल बनाइएको छ ।  अध्यक्ष ओली, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा, सुवास नेम्वाङ, सत्यनारायण मण्डल र छबिलाल विश्वकर्मा अध्यक्ष मण्डलमा रहनु भएको छ ।

यसैबीच, एमालेले केन्द्रीय कमिटिले पारित गरेको पदाधिकारीको संख्या हेरफेर गरेको छ ।

गत असोज ८ र ९ गते सम्पन्न भएको केन्द्रीय कमिटि बैठकले उपमहासचिव दुई जना राख्ने प्रस्ताव पारित गरेको थियो । तर त्यसलाई हेरफेर गर्दै विधान महाधिवेशनमा औपचारिक रुपमा प्रस्तुत गरिएको विधान संशोधन प्रतिवेदनमा उपमहासचिव पद नराख्ने प्रस्ताव गरिएको हो । त्यस्तै प्रस्तावित उपाध्यक्षको संख्या ३ भए पनि त्यसलाई संशोधन गरेर ७ पु¥याउन र सचिवको संख्या पनि ७ राख्न सुझाव दिईएको थियो । तर आज प्रतिनिधिहरुलाई वितरण गरिएको संशोधन प्रस्तावमा अध्यक्ष–१, उपाध्यक्ष–५, महासचिव –१, सचिव –६ मात्रै पदाधिकारी राख्ने प्रस्ताव गरिएको छ ।

त्यस्तै १३ जना पदाधिकारीसहित केन्द्रीय कमिटिको संख्या २ सय २५ जना रहने प्रस्ताव गरिएको छ । निवर्तमान पार्टी अध्यक्षलाई वरिष्ठ नेता मानिने व्यवस्था हटाउने प्रस्ताव पनि गरिएको छ ।००००