काठमाण्डौ ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले बिहीबार मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ । 

बुधबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले बिहीबार सरकार विस्तार हुने ‘ब्रिफिङ’ गर्नुभएको हो । त्यसअघि विहीवार नै सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठक बस्ने उहाँले जानकारी दिनुभएको एक स्थायी कमिटी सदस्यले बताए । माओवादीका तर्फबाट अहिले जनार्दन शर्मा र पम्फा भुसाल सरकारमा सहभागी छन् । अब माओवादीका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री थपिनेछन् । 

तर पार्टीका तर्फबाट सरकारमा जाने थप मन्त्रीका विषयमा भने बुधवारको बैठकमा छलफल नभएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिनुभयो । बैठकमा पार्टीको सम्मेलनलगायत विषयमा छलफल भएको उहाँले बताउनुभयो । माओवादी केन्द्रमा मन्त्रीका आकांक्षी धेरै भएपछि अध्यक्ष दाहाल तनावमा रहनुभएको स्रोतको भनाइ छ ।