काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई खबरदारी गर्न नेपाली सञ्चारमाध्यम उदासीन रहेको बताउनुभएको छ ।
आज राजधानीमा आयोजित सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले सञ्चारमाध्यमहरुले खबरदारी नगर्दा सरकारको लापरवाही बढ्दै जाने बताउनु भएको हो । सरकारले संविधान मिच्दा पनि सञ्चारमाध्यम मौन रहेको उहाँको गुनासो थियो ।
अध्यक्ष ओलीले वर्तमान सरकारले सदन छलेर दल फुटाउने अध्यादेश ल्याएर संविधानको उल्लंघन गरेको बताउनुभयो । एकपटक जारी भएको अध्यादेश सूचना निकालेको भरमा फिर्ता नहुने उहाँको जिकिर थियो । गठबन्धन सरकार संसदीय मूल्यमान्यता भत्काएर स्वेच्छाचार बन्दै गएको भन्दै उहाँले अहिलेको लोकतान्त्रिक प्रणालीप्रति चिन्ता ब्यक्त गर्नुभयो । आफू प्रधानमन्त्री हुँदा निर्वाचन घोषणा गरेको विषय उठाउँदै ओलीले प्रतिगमन शब्दको दुरुपयोग भएको उल्लेख गर्नभुयो । अध्यक्ष ओलीले एमसीसीबारे एमाले सकारात्मक रहेको संकेत समेत गर्नुभएको छ । एमसीसीका विषयमा अग्रसरता लिनुपर्ने सरकारनै मौन बसेको भन्दै उहाँदे आफ्नो मात्रै चाहनाले एमसीसी पास नहुने बताउनुभयो ।००००