काठमाण्डौं । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले सरकारले भदौ २ गते जारी गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश पार्टी फुटाउने प्रयोजनका लागि ल्याएको पुष्टि भएको बताएको छ ।
आज कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको भेटमा एमाले अध्यक्ष केपि शर्मा ओलीले सरकारले षड्यन्त्रपूर्ण तरिकारले अध्यादेश जारी गरेको पुष्टि भएको बताउनु भएको हो । प्रधानमन्त्री शेर बहादुर देउवाको दूत बनेर बालकोट पुग्नु भएका मन्त्री कार्कीले संसदको गतिरोध, वर्तमान राजनीतिक अवस्थालगायतका विषयमा सरकारलाई सहयोग गर्न अध्यक्ष ओलीलाई आग्रह गर्नुभएको थियो । तर, सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि एमाले विभाजन भएको भन्दै अध्यक्ष ओलीले कार्कीलाई सकरात्मक सन्देश नदिएको बताइएको छ । भेटवार्ता पछि अध्यक्ष ओलीको सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा मध्यरातमा संसद् बन्द गरेर बिहानै अध्यादेश ल्याउने काम प्रमुख प्रतिपक्षी दलकोविरुद्धको षड्यन्त्र भएको उल्लेख गरिएको छ ।
संसद् अधिवेशन चलिरहेका बेला कानुन निर्माण, परिवर्तन वा खारेजीजस्ता कुरा संसद्बाहेक अन्यत्रबाट हुन नसक्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । मन्त्री कार्की र अध्यक्ष ओलीबीच यसअघि पनि २/२ पटक लाई भेटवार्ता भएपनि सकरात्मक परिणाम भने निस्कन सकेको छैन ।०