काठमाण्डौ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनमा पेश गरिने प्रतिवेदन मस्यौदामाथि छलफल गर्न १० वटा समूह निर्माण गरेको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आजदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकले प्रतिवेदन मस्यौदामाथि छलफल गर्न प्रदेशको आधारमा समूह बनाएको हो । समूहगत रुपमा छलफल गरेर प्रतिवेदन मस्यौदाहरुमाथि सुझावलाई केन्द्रीय कमिटी बैठकमा पेश गरिने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । केन्द्रीय सदस्यहरुलाई अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन मस्यौदा दिइएको छ । केन्द्रीय सदस्यहरुले अध्ययन गरेर समूहमा आफ्नो सुझाव राख्ने र टोली नेताले केन्द्रीय कमिटी बैठकमा संकलित सुझाव पेश गर्ने सचिव तामाङले बताउनुभयो ।

समूहगत छलफलपछि भोलि दिउँसो १ बजेबाट केन्द्रीय कमिटी बैठकमा सुझाव प्रस्तुत गरिने भएको छ । आगामी असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदन मस्यौदाहरुमाथि स्थायी कमिटीमा यसअघि नै छलफल भइसकेको छ । अब केन्द्रीय सदस्यहरुको समेत सुझाव आएपछि स्थायी कमिटी बैठकले प्रतिवेदनहरु टुंगो लगाउनेछ ।००००