काठमाण्डौ । ‘कोभिड–१९ संकट व्यवस्थापन केन्द्र’ सीसीएमसी निष्क्रिय भएको छ ।
केपि शर्मा आली नेतृत्वको सरकारले ल्याएको ‘कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८’ संसद्बाट समयमै पारित नभएपछि सीसीएमसी निष्क्रिय भएको हो । सीसीएमसी निष्क्रिय भएसँगै सीसीएमसीका प्रमुख कार्यकारी अधिकृत तथा अवकाश प्राप्त रथी बालानन्द शर्माको जिम्मेवारी पनि सकिएको छ । ओली सरकारले जेठ पहिलो साता अध्यादेश जारी गर्दै शर्मालाई सीईओमा नियुक्त गरेको थियो । उक्त अध्यादेश संसद् खुलेको ६० दिनभित्रमा पारित गरिसक्नुपर्ने प्रावधान रहेको छ । तर त्यसपछि दुई पटक संसद् खुले पनि अध्यादेश संसद्बाट पारित नभएपछि गत शुक्रबारदेखि सीसीएमसी निष्क्रिय भएको हो ।
अब सीसीएमसीले गर्दै आएका कामहरू हेर्नको लागि सरकारले कार्यकारी आदेशबाट प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा एउटा समिति गठन गर्न लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।००००