काठमाण्डौ । संसदीय समितिले डाएलाईसिस मेसिन तत्काल थप गर्न सरकारलाई निर्देशन दिएको छ ।
संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकले डाएलाईसिस मेसिन थप गर्ने योजना तत्काल कार्यान्वयनमा ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकमा समितिकी सभापति जयपुरी घर्तीले समितिले नेपालका नागरिकहरुमा इच्छाशक्तिको कमी भएकाले आत्मबल बढाउन मन्त्रालयले विभिन्न जनचेतनामुलक कार्यक्रम राख्नुपर्ने निर्णय भएको बताउनुभयो । उहाँले छिटो भन्दा छिटो डाएलाईसिस गर्ने मृगौला ट्रान्सप्लान्ट गराउने कुरामा तत्काल ध्यान दिन पनि मन्त्रालयलाई निर्देशन दिनुभयो ।
बैठकमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले नेपालमा प्रत्येक वर्ष ३ हजार मानिसको मृगौला फेल भएको विवरण आइरहेको बताउनुभयो । पाँच वटा मात्रै उपचार गर्ने अस्पताल भएकोले मृगौला ट्रान्सप्लान्ट गर्नका लागि पनि २ वर्षसम्म कुर्नुपर्ने बाध्यता रहेको भन्दै ६ महिनाभित्र ट्रान्सप्लान्ट र डायलाईसिसमा ठूलो परिवर्तन हुने दाबी गर्नुभयो ।
राज्यमन्त्री श्रेष्ठले दशैँसम्म एक करोड ४० लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाउने सरकारको लक्ष्य रहेको पनि समितिलाई जानकारी गराउनुभयो । उहाँले अहिले स्वास्थ्यमा सबैभन्दा ठूलो खतरा बीमाबाट रहेको बताउँदै बीमा व्यवस्थित गर्न जरुरी रहेको बताउनुभयो ।००००