काठमाण्डौं । परराष्ट्रमन्त्री नारायण खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा खड्कालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्रमन्त्रीको नेतृत्वमा टोली पठाउनुपर्ने भएपछि सत्ता गठबन्धनले हिजो बेलुकी परराष्ट्रमन्त्री नियुक्त गर्ने निर्णय गरेको थियो । उदयपुर क्षेत्र नं. १ बाट निर्वाचित खड्का कांग्रेसको केन्द्रीय सदस्य तथा परराष्ट्र विभागका प्रमुख समेत रहनु भएको छ ।
संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा पठाउन प्रतिनिधि नभएपछि प्रधानमन्त्रीले कांग्रेस नेता खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्नुभएको हो । मन्त्रिपरिषद्ले हिजो परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली टोली महासभामा पठाउने निर्णय गरेपछि मन्त्रीको टुंगो लागेको हो ।००००