काठमाण्डौ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सरकारले समाजवादको लक्ष्य प्राप्त गर्न आवश्यक कार्यक्रम तयार गरिरहेको बताउनुभएको छ ।

एमालेको जिल्ला समन्वय समिति चितवनको पाँचौं जिल्ला सभालाई मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले आफू अल्पमतमा परे पनि दिनगन्ती गनेर नबस्ने बताउनुभएको हो । प्रदेश सरकार अल्पमतमा परेको भए पनि प्रत्येक दिन, प्रत्येक घन्टा के गर्न सकिन्छ भनेर लागिरहेको उहाँको भनाइ थियो ।

सरकारका मुख्यमन्त्री र मन्त्रीको आचरण कस्तो हुने भनेर आफ्नो सरकारले आचारसंहिता समेत बनाएर लागू गरेको उहाँले जानकारी दिनुभयो । सरकारले अलिकति पनि समय खेर नफाल्ने भन्दै उहाँले जति समय बाँकी छ, त्यति समय काम गरेर देखाउने बताउनुभयो ।

प्रदेशसभाका १४ सांसद नेकपा एकीकृत समाजवादीमा खुलेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा पर्नुभएको छ । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीले दाबी गरिसकेको छ ।