काठमाण्डौ । राष्ट्रियसभामा विनियोजन विधेयक बजेट पेश भएको छ ।

हिजो प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयक आज राष्ट्रियसभामा पेश भएको हो । प्रमुख प्रतिपक्षी नेकपा एमाले अवरोधका बीच राष्ट्रियसभाले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको हो । अब राष्ट्रियसभा सदस्यले ७२ घण्टाभित्र विनियोजन विधेयकमाथि संशोधन प्रस्ताव राख्न सक्नेछन् । सांसदहरुको संशोधनसहित मन्त्रालयत रुपमा छलफल गरेर पारित गरेपछि पुनः प्रतिनिधिसभा, सभामुख हुँदै राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पुग्नेछ र बजेट कार्यान्वयनमा जानेछ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विनियोजन विधेयकमाथि दफावार छलफल गर्न राष्ट्रिय सभाको अर्को बैठक बिहिबार दिउसो २ बजे बोलाउनु भएको छ ।

प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा गएको विनियोजन विधेयकमा विधेयक भदौ ३१ गतेदेखि लागू हुने उल्लेख छ । यही व्यवस्थासहितको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव रााष्ट्रियसभाबाट समेत स्वीकृत भएको छ । राष्ट्रियसभाबाट जस्ताको तस्तै पारित भए भदौ ३१ गतेदेखिकै खर्चले वैधता पाउनेछ । बजेट समयमा संसदबाट पारित नहुँदा अहिले मुलुक बजेट होलिडेमा छ । यो समयमा भएको खर्चले कानूनी वैधता कसरी पाउँछ भन्ने सबैको चासोको विषय बनेको छ ।