काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दुई महिनामा गरेको कामको सूची सार्वजनिक गरेको छ ।
प्रधानमन्त्रीमा नियुक्त भएको दुई महिना वितिसक्दा पनि सरकार विस्तार र प्रभावकारी काम गर्न नसकेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला प्रधानमन्त्रीको सचिवालयले आज देउवा नेतृत्वको सरकारले गरेको १५ कामको सूची सार्वजनिक गरेको हो । सार्वजनिक सूचीमा विद्युत प्राधिकरणमा कुलमान घिसिङ र योजना आयोगमा विश्व पौडेलको नियुक्तिलाई उपलब्धि मानिएको छ । यस्तै एकैदिन तीन लाखलाई खोप दिनु, १८ वर्षमुनिका बालबालिकालाई दिइने ४० लाख मात्रा मोर्डना खोपको टुंगो लगाउनु र बाढी पहिरो र डुबान पीडितको युद्धस्तरमा उद्धार तथा राहत र पुनस्थापनाको कामलाई पनि सरकारले उपलब्धिको सूचीमा समावेश गरेको छ । यस्तै, कोरोनाबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानका लागि विशेष प्याकेज, कर्मचारी, शिक्षक, सेना, प्रहरी स्वास्थ्य सेवाका कर्मचारीको तलब बृद्धि, क्यान्सर, मृगौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार भत्ता, अति विपन्न गरिब घर परिवारलाई दश हजार रुपैयाका दरले राहत दिनु पनि सरकारले दुई महिनाको उपलब्धी भनेको छ ।
पाँच दलीय गठबन्धनको समर्थनमा सरकारको नेतृत्व गर्नुभएका प्रधानमन्त्री देउवाले ६ जनाको मन्त्रिमण्डल बनाएपनि १७ मन्त्रालयको जिम्मेवारी आफैंसँग राख्नुभएको छ।