काठमाण्डौ । नेकपा एकीकृत समाजवादीले बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नभएको जनाएको छ । 

नेकपा एमालेबाट एकीकृत समाजवादी पार्टी रोजेका १३ सांसदको आज बसेको बैठकले मुख्यमन्त्री शाक्यलाई समर्थन नगर्ने निर्णय गरेको हो । आजको बैठकले राजेन्द्र पाण्डेलाई संसदीय दलको नेता चयन गरेको छ । बैठकले मुख्यमन्त्री शाक्यलाई आफ्नो समर्थन नरहेको जानकारी संसद सचिवालयलाई समेत जनकारी गराउने निर्णय गरेको छ । योसँगै मुख्यमन्त्री शाक्य अल्पमतमा पर्नु भएको छ ।

एमाले विभाजन हुँदा माधवकुमार नेपाल समूह छाडेर एमालेमै रहनु भएका मुख्यमन्त्री शाक्य भदौ २ गते मुख्यमन्त्री बन्नुभएको थियो । १ सय ९ सदस्यीय प्रदेशसभामा एमालेको प्रष्ट बहुमत रहेको थियो । ५५ मध्ये १३ सांसदले एकीकृत समाजवादी रोजेपछि एमालेको सांसद संख्या ४२ पुगेको छ । अब मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुपर्नेछ । नभए अविश्वासको प्रस्ताव दर्ता गर्ने पाँचदलीय गठबन्धनको तयारी छ । गठबन्धनमा एकीकृत समाजवादीले मुख्यमन्त्री दाबी गरेको छ ।००००