काठमाण्डौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसीसी परिमार्जन सहित अनुमोदन हुनु पर्ने बताउनु भएको छ । 


युवा सङ्घ नेपाल लुम्बिनी प्रदेश स्तरीय भेला र पिपुल्स भोलेन्टियर्स घोषणा कार्यक्रमलाई आज सम्बोधन गर्दै अध्यक्ष नेपालले एमसीसी नेपालको आर्थिक विकासमा मात्रै सम्बन्धित हुनुपर्नेमा जोड दिनु भएको हो । उहाँले अमेरिकाले एमसीसीमा सुरक्षा रणनीति नजोडिएको लिखित दिनुपर्ने बताउनुभयो । अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भका कारण दुई तिहाई सरकार फेल भएको समेत बताउनुभयो । उहाँले कतिपय प्रदेशमा एमालेभन्दा आफ्नो पार्टी ठूलो भएको बताउनुभयो । वाग्मती प्रदेशमा एमाले नेतृत्वको सरकार केही दिनमा ढल्ने र गठबन्धनको सरकार बन्ने उहाँको भनाई छ । साथै उहाँले पार्टी एकताका नाममा गरिएको १० बुँदे सहमतिलाई जालझेलको संज्ञा दिनुभयो । सर्वोच्च अदालतको जेठ २८ को फैसला अनुसार कारबाहीको औचित्य सकिएको भन्दै उहाँले संसदमा नाटक प्रदर्शन भइरहेको टिप्पणी गर्नुभयो । न्यायालयदेखि संवैधानिक निकाय र नेतृत्वमाथि मानमर्दन हुँदा नेपाली राजनीतिमा गलत संस्कारको विकास भएको पनि उहाँको भनाई छ । 

अध्यक्ष नेपालले एमालेभित्र गुटको सिर्जना गरी अरुलाई निषेध गर्ने प्रवृत्तिको अन्त्य गर्न पनि नयाँ सोचको आवश्यकता रहेकोले नेकपा एकीकृत समाजवादी गठन भएको बताउनुभयो ।००००