काठमाण्डौ । नेपाली कांग्रेसको महाधिवेशन स्थगित गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

कांग्रेस प्रदेशसभा सदस्य नरोत्तम वैद्यले कोरोना कारण देखाएर महाधिवेशन रोक्न माग गर्दै रिट दायर गर्नु भएको थियो । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले उक्त रिट खारेज गर्ने आदेश दिएको हो । वैद्यले रिटमार्फत् महामारीको समयमा महाधिवेशन गर्दा कोभिड–१९ को संक्रमण फैलिन सक्ने भन्दै कोरोना नियन्त्रण भएपछि मात्रै महाधिवेशन गर्ने गरी आदेश माग गर्नु भएको थियो ।

कांग्रेसको महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । हाल विभिन्न जिल्लामा वडा अधिवेशन चलिरहेको छ ।००००