काठमाडौं । सत्तारूढ गठबन्धनका नेताहरुबीच एक/दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको छ ।
आज बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको शिर्ष नेताहरुको बैठकले १/२ दिन भित्रै मन्त्रिमण्डल बिस्तार गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै देउवाले कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री र माओवादी केन्द्रबाट दुई मन्त्री नियुक्त गर्नुभएको थियो । त्यसपछि मन्त्रिपरिषद बिस्तार हुन सकेको छैन । यस्तै, आजको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको विषयमा पनि छलफल भएको बताइएको छ ।
एमसीसी सदनबाट पारित गर्ने या नगर्ने विषयमा सत्तारुढ दलरूबीचनै फरक फरक विचार आएपछि समान धारणा बनाउन प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनको बैठक आह्वान गर्नू भएको बताइएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।