काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आगामी महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
पार्टीका संस्थापक नेता विपी कोइरालाको जन्मजयन्तीको अवसरमा बिहीवार सुन्दरीजल पुग्नु भएका प्रवक्ता शर्माले पार्टीको आगामी महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।
तीन वटा निर्वाचन लगातार जितेर १५ वर्षमा देश बनाउने विपी कोेईरालाको परिकल्पनालाई सम्बोधन गर्न पनि आफूले पार्टी भित्रका सबै नेता र कार्यकर्ताको साथ, सहयोग र समर्थन पाएर पार्टीको महामन्त्रीमा उम्मेदवारी दिने योजना बनाएको उहाँको स्पष्ट पार्नुभयो ।
प्रवक्ता शर्माले एउटा निर्वाचन जित्ने अर्को निर्वाचन हार्ने निरन्तरको श्रृखंला कांग्रेसको रहेको स्मरण गराउँदै त्यसले देश नबन्ने र त्यसको भागीदार काँग्रेस हुनुपर्ने अवस्था आउन नदिन पनि आफूले पार्टीलाई महामन्त्रीको जिम्मेवारीमा रहेर हाँक्ने चाहेको पनि बताउनुभयो ।’
नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसीर ९ गतेबाट काठमाडौंमा सुरु हुँदैछ । काँग्रेस युवा नेता गगन थापाले सोही महाधिवेशनमा महामन्त्रीका लागि उम्मेदवारी दिने घोषणा गरिसक्नु भएको छ । काँग्रेसको बिधानमा २ जना महामन्त्री हुने व्यवस्था गरिएको छ । कांग्रेस वृतमा महामन्त्रीका लागि युवा नेता प्रदीप पौडेलले पनि उम्मेदवारी दिने चर्चा छ ।