काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का उपाध्यक्ष फतिमा सुमार र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

चारदिने भ्रमणका लागि बिहिबारनै नेपाल आएका फतिमा नेतृत्वको प्रतिनिधिमण्डल ओलीलाई भेट गर्न बालकोट पुगेको हो । सो क्रममा नेपालको संसदमा विचाराधीन रहेको एमसीसी सम्झौताका विषयमा छलफल केन्द्रीत भएको बताइएको छ । भेटवार्तामा अध्यक्ष ओलीले एमसीसीबारे पार्टीभित्र गहन छलफलपछि मात्रै औपचारिक धारणा तय गर्ने बताउनुभएको छ । भेटका क्रममा उपाध्यक्ष सुमारले एमसीसी  र अमेरिकी सैन्य गठबन्धनबीच सम्बन्ध नरहेको जानकारी गराउनु भएको थियो । उहाँले कुनै पनि सैन्य प्रयोजनका निम्ति अनुदान कोषको प्रयोग गर्नबाट निषेध गरेको बताउनुभयो । 

एमसीसी कार्यान्वयनका लागि एमसीसीकी उपाध्यक्ष फातिमा सुमारको टोली आजै  बिहान काठमाडौं आइपुगेको थियो । टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाल लगायतलाई पनि भेट गर्ने कार्यक्रम छ । 

एमसीसी सम्झौतालाई नेपालको संसदबाट पारित गर्नुपर्ने अमेरिकाको दबाबका बीच फातिमाको नेपाल भ्रमण भएको हो ।एमसीसी संसदबाट पारित गर्ने विषयमा राजनीतिक दलहरूबीच फरक फरक मत रहेका बेला फतिामा चार दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी हुन् । 

नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र एमसिसीबीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)मा द्विपक्षीय सम्झौता भएपछि एमसिसीबाट यो तहमा पहिलोपटक भ्रमण भएको हो । 

सम्झौताअनुसार सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट रु ५० अर्ब सहयोग प्राप्त हुने छ ।