काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको भन्दै सरकारले गम्भीर आपत्ति जनाएको छ ।
गृह मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै छिमेकी प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । नेपाल सरकारले सबै मित्रराष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहेको र नेपाली भूमिमा कुनै पनि राष्ट्र विरुद्धका गतिविधि हुन नदिने विषयमा कटिबद्ध रहेको विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले मित्राष्ट्रहरुविरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न हुनेलाई कारबाही गर्ने पनि स्पष्ट पारेको छ ।
केहीदिनअघि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठनले भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाएको थियो । दार्चुलाका जयसिंह धामी बेपत्ता घटनामा भारतीय एसएसबीको संलग्नता पुष्टि भएपछि घटनाको विरोधमा विद्यार्थीहरुले मोदीको पुत्ला जलाएका हुन् ।००००

