काठमाण्डौ । सरकारले आगामी भदौ २३ गतेका लागि संघीय संसदको दुवै सदनको अधिवेशन बोलाउन सिफारिस गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आगामी भदौ २३ गते अपरान्ह ४ बजे बोलाउन सिफारिस गरेको हो । संसदको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने प्रचलन छ । यसअघि सरकारले गत साउन ३२ गते संसद अधिवेशन अन्त्य गरेको थियो । त्यसको भोलिपल्ट दल विभाजनलाई सहज हुने गरी राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएको थियो । अध्यादेश अनुसार दल विभाजन भई नयाँ दर्ता भएका दल रोज्न प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई भदौ २२ गतेसम्मको समय दिइएको छ । त्यसको भोलिपल्ट सरकारले संसद अधिवेशन आह्वानको सिफारिस गरेको हो ।
यसैबीच, नेकपा एमालेले संसद् अधिवेशन चलाएर देखाउन चुनौती दिएको छ । आज काभ्रे जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले महासचिव ईश्वर पोखरेलले आगामी संसद् अधिवेशन चलाएर देखाउन सभामुख अग्निप्रसाद सापकोटालाई चुनौती दिनु भएको हो । उहाँले सभामुख सापकोटा सभामुख नभइ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्देशन मान्ने कार्यकर्ता भएको टिप्पणी समेत गर्नुभयो ।
