काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्न आह्वान गर्नु भएको छ । 

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ५, कटुञ्जेमा वडा अधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने बताउनु भएको हो । उहाँले कांग्रेस लोकतन्त्र र समाजवादलाई बलियो बनाउन सधैँ प्रतिबद्ध रहेको पनि बताउनुभयो ।

कटुञ्जे एमाले नेता महेश बस्नेतको निर्वाचन क्षेत्र हो । देउवाले बस्नेतकै क्षेत्रमा पुगेर कांग्रेसलाई हराएर देखाउन चुनौती समेत दिनु भएको छ । बस्नेतले गत भदौ पहिलो साता भक्तपुरमा कांग्रेसका सभापति शेरबहादुर देउवालाई उठाए पनि आफूले सहजै रुपमा चुनाव जित्ने अभिव्यक्ति दिनुभएको थियो । 

कांगे्रसलाई आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने जिम्मेवारी आफूहरुलाई रहेको पनि देउवाले बताउनुभयो । देउवाले महामारी बढ्दो क्रममा रहेकाले महाधिबेशनमा आफ्नो स्वास्थ्यलाई समेत ध्यानमा राख्न आग्रह गर्नुभएको छ । कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज ५६ जिल्लामा वडातहको अधिवेशन सुरु भएको छ ।