काठमाण्डौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले १० बुँदेको भ्रममा नपर्न प्रदेश सांसद, जनप्रतिनिधि तथा पार्टीका नेता कार्यकतालाई आग्रह गर्नु भएको छ ।

आज एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले १० बुँदे सहमतिको भ्रममा नपर्न नेता कार्यकर्तालाई आग्रह गर्नु भएको हो । फागुन २८ गते एकतर्फी रुपमा गरिएको बैठक गलत ढङ्गबाट गरिएको भन्ने ओलीमा स्वीकारोक्ति नरहेकाले ओलीमा सुध्रिने कुनै लक्षण नरहेको अध्यक्ष नेपालको भनाई छ ।

आफ्नो पार्टी माओवादी केन्द्रसँग गएर बिलिन हुन्छ भन्ने भ्रम फैलाइएको भन्दै उहाँले आफ्नो पार्टी विद्रोह गरेर जन्मिएकाले त्यस्ता भ्रममा नपर्न पनि आग्रह गर्नुभयो । उहाँले जनताको बहुदलीय जनवादलाई नछाडेको भन्दै यसलाई आत्मसात गरेर नयाँ ढङ्गबाट अघि बढ्ने बताउनुभयो । संसद सचिवालयले संसदीय दलको कार्यालय उपलव्ध गराएपछि माधव नेपाल लगायतका सांसदहरु आज कार्यालय पुगेका थिए ।