काठमाण्डौ । सरकारले चीनसँगको सीमा विवाद अध्ययनका लागि छानबिन समिति गठन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले हुम्ला जिल्लाका विभिन्न ठाउँमा देखिएका सीमा विवादबारे अध्ययन गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । समतिले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा विवादको अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउनेछ ।

यस्तै, सरकारले अघिल्लो सरकारले वृद्धि गरेको सामाजिक सुरक्षा भत्तालाई कार्यान्वयन गर्ने निर्णय गरेको छ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा सबै प्रकारको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाउने घोषणा गर्नुभएको थियो ।

यस्तै सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाले कानून विपरीत आफन्तको नाममा शेयर खरीद गरेको विषयमा छानबीन गर्न समिति गठन गरेको छ । छानबीन समितिले सिफारिश गरेमा अध्यक्षलाई हटाउन सकिने व्यवस्था रहेको छ ।