काठमाडौं । एक महिनाअघि साउन १५ गते महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर बेपत्ता भएको घटनाबारे छानबिन समितिले प्रतिवेदन बुझाएको छ । ब्यास गाउँपालिका–२ स्थित महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटेर भएको भनिएको घटनाबारे छानबिन गर्न गठन भएको समितिले प्रतिवेदन बुझाएको हो ।
महाकाली नदीमा तुइन चुँडिएर स्थानीय जयसिंह धामी बेपत्ता भएका छन् । घटना छानबिन गर्न बनेको सहसचिव जनार्दन गौतम नेतृत्वको समितिले मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको हो ।
छानबिन समितिमा सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी सदस्य थिए ।
प्रतिवेदनमा के विषय उल्लेख छ भन्नेबारे तत्काल केही खुलाइएको छैन ।
