काठमाण्डौ । सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरको भग्‍नावेशलगायतका कार्य तत्काल यथास्थानमा राख्न अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीशद्वय अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको इजलासले अन्तरिम आदेश जारी गरेको हो। यसअघि सर्वोच्चले सरकारसँग साउन २७ गते भत्काउन पर्नुको कारण पेस गर्न नेपाल प्रज्ञा प्रतिष्ठानलगायतका निकायका नाममा आदेश जारी गरेको थियो। दोस्रो सुनुवाइ गर्दै सर्वोच्चले हाल जुन अवस्थामा छ त्यस्तै राख्न भनेको छ।

पुरातात्त्विक महत्त्वको घर भत्काएको भन्दै अधिवक्ता सञ्जय अधिकारीले सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको इजलासले प्रज्ञा प्रतिष्ठानलगायतका विपक्षीसँग १५ दिनभित्र लिखितरुपमा महान्यायाधिवक्ता कार्यालयमार्फत् कारण पेस गर्न आदेश दिएको थियो।

घर भत्काउन रोक्न अन्तरिम आदेश माग गरिए पनि सर्वोच्चले भने उक्त आदेश जारी गरेको थिएन। पुरातात्त्विक महत्त्वको घर भत्काउनु गलत भएको भन्दै त्यसले महाकविसँग जोडिएको धरोहर नाश हुने भएकाले संरक्षण गर्न आदेश हुनुपर्ने माग रिटमा गरिएको थियो।

प्रज्ञा प्रतिष्ठानले मैतीदेवीस्थित देवकोटाको घर भत्काएर अर्को घर बनाउने तयारी गरेको छ। तर, देवकोटाको घर नभत्काइ ‘रेट्रोफिटिङ’ गर्नुपर्ने साहित्यकार र संरक्षणविद्हरुले माग गर्दै आएका छन्।