सिन्धुलीमाढी। मरिण गाउँपालिकामा अबिरल वर्षाका कारण आएको खहरेले ३० बिघाहा भन्दाबढी जमिन कटान गरेको छ। गत शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आएको खहरे बाढीले मरिण गाउँपालिकाका विभिन्न ठाउँका जमिन कटान गरेको हो।
गाउँपालिकाको वडा नं. -३ को भालुमारा खोलाले करिब १३ बिघाहा जमिन कटान गरेको मरिण गाउँपालिकाका प्रवक्ता तथा वडा नं. -३का वडा अध्यक्ष विमर्श मोक्तानले जानकारी दिनुभयो। त्यस्तै प्रवक्ता मोत्तानका अनुसार वडा नं. -३ कै मथौलिमा ७ बिघाहा, चनौटमा खोलाको खहरेले ३ बिघाहा जमिन कटान गरेको छ। गर्दो खोला, नक्कली खोलामा आएको खहरे खोलाले धाानबाली सहित जमिन कटान गरेपछि त्यहाँका स्थानीय स्थानीय तहसम्म गुनासो गर्न पुगेका छन्। बर्षभरी खानेबालीमा अहिले खहरे खोला बगेको देख्दा स्थानीय कृषकहरु चिन्तित भएका छन्।
त्यस्तै वडा नं. -५ बढिमनमा खोलाले धारनै परिवर्तन गरी जमिन कटान गरको छ। खोलाले धार परिवर्तन गर्दा स्थानीयको बाली लगाएको ५ बिघाहा जमिन कटान गरेपछि त्यहाँका स्थानीय कृषक चिन्तित बनेका छन्। यता वडा नं. -४ पनि फुलबारी खहरेले ३ बिघाहा जमिन कटान गरेको गाउँपालिकाका प्रवक्ता मोक्तानले बताउनु भयो।
वडा नं. ३ र ४ नम्बर वडाको सिमामा मरुवा खहरेले ५ बिघाहा धानबाली लगाइएको जमिन कटान गरेको जनाइएको छ। प्रवक्ता मोक्तान लगायत स्थानीयले आज मरिण गाउँपालिकाको खोलाले क्षति पुर्याएको स्थानमा अवलोकन गर्नु भएको छ। मरिणमा ३० बिघाहा भन्दाबढी जमिन कटान गर्दा सयौँ मुरी धानखेत नोक्सान भएको उहाँले बताउनु भयो।
उता वडा नं. -३ को भालुमारा खोलाले कुलो बगाएको छ। भालुमाराको २० बिघाहा जमिनमा पानी लाग्ने कुलो खोलाले बगाएको हो। यसैबीच वडा नं. -३ को घ्याल्पेमा सुपेनि भन्ने खहरे गाउँमा पसेपछि ४ वटा घर जोखिममा परेको गाउँपालिकाका प्रवक्ता मुक्तानले जानकारी दिनभयो। सो घरका मानिसहरुलाई सुरक्षित ठाउँमा सार्ने प्रयास भइरहेको बताउनु भयो। मरिण गाउँपालिकाका प्रवक्ता मोक्तानले गाउँपालिकाको विपद् व्यवस्थापनको बैठक बसेर यस बारेमा छलफल गर्ने बताउनु भयो। स्थानीयबासीलाई आवश्यक परेको सहयोग गर्ने पनि प्रतिवद्धता जनाउनु भएको छ।
