सिन्धुलीमाढी। सिन्धुलीमा हिजो बितिजोर खहरे खोलाले बगाउँदा बेपत्ता भएका व्यक्ति अझै फेला परेका छैनन्। गोलन्जोर गाउँपालिका–२ बितिजोरका ५० वर्षिया पुण्यबहादुर कार्कीलाई कृषिऔजारमा धार लगाएर घर फर्किंदै गर्दा बितिजोर खहरे खोलाले बगाएको थियो।

जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी प्रबक्ता मनोज लामाका अनुसार खोला पार गर्ने क्रममा कार्की बगेर बेपत्ता भएका थिए। बाढीले बगाएर सय मीटर तल रहेको सुनकोसी नदीमा पुर्‍याएको आशंका गरिएको लामाले बताउनुभयो। लुम्तिबेसीमा रहेको कृषिऔजार अर्जाप्ने आरनमा गएर कार्की फर्किएका थिए। हिजैबाट प्रहरी चौकी ग्वाल्टार र स्थानीय मिलेर बेपत्ता कार्कीको खोजतलास भइरहेको डिएसपि लामाले जानकारी दिनुभयो। खोलामा बाढि आइरहेको हुनाले बेपत्ता पुरुषलाई खोज्न कठिन भएको उहाँले बताउनुभयो ।