काठमाडौं । प्रदेश १ सरकारका नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई बिहीवार पद तथा गोपनीयताको शपथ गराएलगत्तै उनले कार्यालयमा गएर पदभार ग्रहण गरेका हुन् । मुख्यमन्त्री आचार्यलाई संसदीय दलको नेता चयन गरेर मुख्यमन्त्री शेरधन राई राजीनामा बुझाउन प्रदेश प्रमुखको कार्यालय पुगेका थिए । राईले राजीनामा दिएलगत्तै आचार्यलाई मुख्यमन्त्री नियुक्त गरिएको हो ।

विभाजन अघिको अवस्थामा प्रदेशमा एमालेसँग एकल बहुमत छ । नवगठित नेकपा एकीकृत समाजवादीको पक्षमा लाग्ने सांसदहरूलाई दल रोज्न २१ दिनको समय छ । बहुमत गुम्ने गरी सांसदहरू नयाँ दलमा लाग्नुअगावै एकल बहुमतको मुख्यमन्त्रीका रूपमा आचार्यलाई शपथ खुवाइएको छ ।