काठमाडौं उपत्यकाको फोहर अझै १ हप्ता नउठ्ने भएको छ ।
बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन ल्याण्डफिल साइटको पहिलो ‘सेल’ निर्माणको काम सक्न अझै १ हप्ता लाग्ने हुँदा फोहर व्यवस्थापनमा थप ढिला भएको हो । पहिलो सेल निर्माणको काम अन्तिम चरणमा पुगेको छ, सिसडोल पार गरेर मात्रै बञ्चरेडाँडा पुग्नुपर्ने भएकाले थप समस्या भएको शहरी विकास मन्त्रालयका सूचना अधिकारी सुरेशकुमार वाग्लेले जानकारी दिए ।
साँघुरो ठाउँ तर लामो समयदेखि फोहर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलमा व्यवस्थापन गरिएकाले उक्त फोहरको ढिस्कोलाई पार गरेर अहिले बञ्चरेडाँडामा गाडी जान सक्ने अवस्था छैन । ‘त्यसका लागि पहिले सडक विभाग र काठमाडौं महानगरपालिकाले समन्वय गरेर सिसडोल पार गर्ने पुल निर्माणको काम गर्नुपर्छ, अन्यथा समस्या समाधान हुन कठिन छ,’ वाग्लेले भने ।
गत ११ दिनदेखि काठमाडौं उपत्यकाको फोहर नियमितरूपमा उठ्न सकेको छैन । गत साउन ३२ देखि नै कामपाले सार्वजनिकरूपमा सूचना जारी गरेर नगरवासीलाई एक हप्ता घर बाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो । सो सूचना सार्वजनिक भएको पनि १ हप्ताभन्दा बढी भयो तर अझै साविकको जस्तो फोहर व्यवस्थापन हुन सकेको छैन । यसले गर्दा नदी किनार र सडक छेउछाउमा दुर्गन्ध फैलिन थालिसकेको छ । कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले सहरी विकास मन्त्रालयले समयमा नै दीर्घकालीन ल्याण्डफिल साइट निर्माणको काम सम्पन्न नगर्दा थप समस्या भएको बताए ।
उनले भने, ‘निर्माणाधीन बञ्चरेडाँडामा फोहर व्यवस्थापनको काम शुरू नगरिएसम्म समस्या समाधान हँदैन, सिसडोलमा अब व्यवस्थापन गर्ने ठाउँ छैन ।’
सिसडोलमा विक्रम संवत् २०६२ सालमा २ वर्षको मात्र फोहर व्यवस्थापन गर्न सकिने क्षमताको ल्याण्डफिड निर्माण गरिएको थियो तर पटक पटक त्यसैमा माटोले पुर्दै केही विस्तार गरेर अहिलेसम्म नै फोहर व्यवस्थापन गरिँदै आइएको छ । हरेक दिन उपत्यकाबाट १ हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको मात्र ५०० मेट्रिक टन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिएकामा अहिले मुस्किलले ५० गाडी मात्र सिसडोल पुग्ने गरेका छन् ।
